one
विज्ञापन

व्यापार चौपट भएको भन्दै स्थानीय व्यवसायीहरूले आन्दोलनका क्रममा भानुचौक, देशीलाइन र महेन्द्रपथ क्षेत्रमा सडक अवरुद्ध ..

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । धरान उपमहानगरपालिका–२ स्थित ऐतिहासिक भानुचौक बजार क्षेत्रबाट पुरानो बसपार्क तिनकुने–सालकपुरस्थित नयाँ बसपार्कमा स्थानान्तरण गरिएपछि व्यापार चौपट भएको भन्दै स्थानीय व्यवसायीहरूले बुधबार बिहानदेखि आन्दोलन सुरु गरेका छन् । आन्दोलनका क्रममा व्यवसायीहरूले भानुचौक, देशीलाइन र महेन्द्रपथ क्षेत्रमा सवारी साधन तेस्र्याएर सडक अवरुद्ध पारेका छन् ।

सडक अवरोधका कारण धरान बजार क्षेत्रको आन्तरिक यातायात प्रभावित भएको छ भने स्थिति सामान्य बनाउन नेपाल प्रहरी, स्थानीय प्रशासन र जनप्रतिनिधिहरूले पहल गरिरहेका छन् ।
आन्दोलनरत व्यवसायीहरूको भनाइअनुसार बसपार्क स्थानान्तरणसँगै यात्रुको आवागमन उल्लेख्य रूपमा घटेपछि वर्षौंदेखि सञ्चालनमा रहेका पसल, होटल तथा अन्य व्यवसाय गम्भीर आर्थिक सङ्कटमा परेका छन् । ग्राहकको चहलपहल लगभग शून्यजस्तै भएपछि व्यवसाय टिकाउनै कठिन भएको उनीहरूको गुनासो छ ।
उनीहरुले विगतमा बनाइएको एकतर्फी रुटलाई हटाएर भानुचौकसम्म दुई तर्फी यातायात सञ्चालन गर्न दिनुपर्ने माग राखेका छन् ।

स्थानीय व्यवसायी तथा आन्दोलनका अगुवा भुपाल राईले सम्बन्धित निकायसँग पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएकाले बाध्य भएर सडक आन्दोलनमा उत्रिनुपरेको बताउनुभयो । उहाँका अनुसार बसपार्क स्थानान्तरणपछि भानुचौक, देशीलाइन र महेन्द्रपथ क्षेत्रका सयौँ व्यवसायी प्रत्यक्ष प्रभावित भएका छन् ।

उहाँले मुख्य रूपमा दुई वटा माग अघि सारेका छन् । पहिलो, विगतमा भानुचौक क्षेत्रमा लागू गरिएको एकतर्फी सवारी सञ्चालन प्रणाली तत्काल हटाई दुईतर्फी सवारी सञ्चालनको व्यवस्था गरिनुपर्ने, दोस्रो, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुरलगायत पहाडी जिल्लाबाट आउने–जाने यात्रुवाहक बस, जिप तथा अन्य साना सवारी साधन अनिवार्य रूपमा भानुचौक भएर सञ्चालन हुने व्यवस्था मिलाइनुपर्ने माग व्यवसायीको रहेको बताउनुभयो ।

व्यवसायीहरूको भनाइमा एकतर्फी सडक व्यवस्थाका कारण बजारमा ग्राहकको सहज पहुँच घटेको छ भने पहाडी जिल्लाका सार्वजनिक सवारी नयाँ बसपार्कमै सीमित हुँदा भानुचौक क्षेत्रको व्यापार थप धराशायी बनेको छ । उनीहरूका अनुसार दुईतर्फी सडक सञ्चालन र पहाडी सवारी भानुचौकबाट सञ्चालन भए बजारको व्यापारिक गतिविधि पुनः चलायमान बन्ने अपेक्षा गरिएको छ ।
उनीहरुले आफ्ना माग तत्काल सम्बोधन नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् । आवश्यकता परे देशीलाइन, महेन्द्रपथ र भानुचौक मात्र नभई सम्पूर्ण धरान बजार क्षेत्र नै ठप्प पार्ने गरी आन्दोलन विस्तार गरिने उनीहरूको भनाइ छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
3
विज्ञापन