one
विज्ञापन

डम्पिङ साइटको आगलागी नियन्त्रण, नगर प्रहरी परिचालन र पानबारी प्रशोधन केन्द्र सञ्चालन गर्ने प्रतिबद्धता कार्यान्वयनमा आए मात्रै स्थानीयवासीले लामो समयदेखि भोग्दै आएको प्रदूषणको समस्या समाधान हुने.....

Article Image

धरान । धरान उपमहानगरपालिका–८ स्थित अस्थायी डम्पिङ साइटमा पटक–पटक हुने आगलागी र त्यसबाट निस्कने विषाक्त धुवाँले तरहरा र बकलौरी क्षेत्रका बासिन्दा प्रभावित बनेका छन् । फोहोरको दिगो व्यवस्थापन हुन नसक्दा वर्षौँदेखि समस्या झेलिरहेका स्थानीयवासीले स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारसमेत प्रभावित भएको गुनासो गर्दै आएका छन् ।

यसैबीच धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले डम्पिङ साइटमा आगलागी नियन्त्रण, दोषीको खोजी तथा पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको पानबारी फोहोर प्रशोधन केन्द्र सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
डम्पिङ साइटमा आगलागी भएपछि दमकल र उपलब्ध स्रोतसाधन परिचालन गरेर नियन्त्रणको प्रयास गर्नुपरेको बताउँदै बेघाले कसैले नियतवश आगो लगाउने गरेको आशंका व्यक्त गर्नुभयो । आगो लगाउने व्यक्तिको खोजी गरी दोषी पाइए कानुनी कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले यो समस्या धरानको पुरानै रोग भएको बताउँदै आगो लगाउने निभाउने धरान उपमहानगरपालिकाको दिनचर्या नै रहेको बताउनु भयो ।
आगलागी नियन्त्रण तथा शंकास्पद गतिविधि रोक्न डम्पिङ साइटमा नगर प्रहरीलाई चौबीसै घण्टा आलोपालो ड्युटीमा खटाउने तयारी गरिएको उनले बताउनुभयो । फोहोर बोकेर आउने सरसफाइ टोलीको प्रवेश समय, आवतजावत र त्यहाँ उपस्थित व्यक्तिको विवरणसमेत अभिलेख राखिने उहाँको भनाइ छ । यसबाट आगलागीका घटनामा संलग्न व्यक्तिको पहिचान गर्न सहज हुने अपेक्षा गरिएको छ ।
धरान–८ स्थित सेउती खोला किनारमा रहेको डम्पिङ साइटबाट निस्कने धुवाँको प्रत्यक्ष असर इटहरी उपमहानगरपालिका–२० को तरहरा र आसपासको बकलौरी बस्तीमा पर्ने गरेको छ । प्लास्टिकलगायतका फोहोरमा आगो लाग्दा निस्कने धुवाँले स्थानीयवासीको स्वास्थ्यमा असर पार्ने गरेको गुनासो छ ।
कार्यवाहक मेयर बेघाले तरहरा र बकलौरीवासीले भोग्नुपरेको समस्याप्रति चिन्ता व्यक्त गर्दै प्रदूषणले आफूहरूलाई दुःखी बनाएको बताउनुभयो । फोहोर व्यवस्थापनको समस्या समाधान गर्न अब कडाइका साथ अघि बढ्ने उहाँको भनाइ छ ।
यसैगरी, धरान–६ पानबारीमा करोडौँ रुपैयाँको लागतमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्र पाँच वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । फोहोरलाई प्रशोधन गरी उपयोगी सामग्री तथा जैविक मल उत्पादन गर्ने उद्देश्यले निर्माण गरिएको केन्द्र सञ्चालनमा नआउँदा नगरको फोहोर व्यवस्थापनमा अपेक्षित सुधार हुन सकेको छैन ।
कार्यवाहक मेयर बेघाले प्रशोधन केन्द्र निर्माण सम्पन्न भए पनि उपमहानगरपालिकाले स्वामित्व ग्रहण गरी सञ्चालन गर्न नसकेको स्वीकार गर्नुभयो । आजभन्दा चार–पाँच वर्ष अगाडि नै बनिसकेको भएपनि त्यसलाई नगरपालिकाले स्वामित्व ग्रहण गरेर सञ्चालन नसकेका स्पष्ट पार्नुभयो ।

हाल आफू कार्यवाहक प्रमुखको जिम्मेवारीमा रहेकाले प्रशोधन केन्द्र सञ्चालनको जिम्मेवारी लिने बताउँदै उहाँले सम्बन्धित पक्षसँग छलफल गरी प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो ।
यता, फोहोर व्यवस्थापनको समस्या समाधान गर्नुपर्ने समयमा वातावरण महाशाखाका प्रमुख सम्पर्कमा नआएको भन्दै बेघाले असन्तुष्टि जनाउनु भएको छ । पटक–पटक फोन गरेर बोलाउन खोज्दा पनि सम्पर्कमा नआएपछि आवश्यक परे प्रशासनिक कारबाही गरिने उहाँले चेतावनी दिनुभयो ।
डम्पिङ साइटको आगलागी नियन्त्रण, नगर प्रहरी परिचालन र पानबारी प्रशोधन केन्द्र सञ्चालन गर्ने प्रतिबद्धता कार्यान्वयनमा आए मात्रै स्थानीयवासीले लामो समयदेखि भोग्दै आएको प्रदूषणको समस्या समाधान हुने अपेक्षा गरिएको छ । अब उपमहानगरपालिकाले प्रतिबद्धतालाई व्यवहारमा उतार्दै सुरक्षित र स्वच्छ वातावरण सुनिश्चित गर्नुपर्ने चुनौती छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
6
विज्ञापन
0
विज्ञापन