one
विज्ञापन

कोशी प्रदेशमै पहिलो पटक दूरबिन प्रविधिबाट मेरुदण्डको सफल शल्यक्रिया

Article Image
Article Image

झापा :
झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेका १८ वर्षीय युकेश लिम्बू केही सयमयता देब्रे खुट्टा नचल्ने समस्याले पीडित थिए । मेरुदण्डको नसाच्यापिएपछि दैनिक हिँडडुलमा कठिनाइ बढ्दै गएको थियो । परिवारले दमकमा रहेको एक अस्पतालमा उपचारको प्रयास गरे पनि शल्यक्रियाबारे स्पष्ट विकल्प पाउन सकेका थिएनन् ।
अन्ततः उनले बिर्तासिटी अस्पतालमा डा. रुपेशजंग वेलवासेलाई भेटे र यो प्रविधिका विषयमा डा. वेलवासेले जानकारी दिए । डा. वेलवासेको सल्लाह अनुसार उनको परिवारले यो प्रविधिबाट उपचार गराउन शुरु ग¥यो । असार १८ गते गरिएको दूरबिन (एन्डोस्कोपिक) प्रविधिको शल्यक्रियापछि लिम्बूको उपचार सफल भएको छ । अस्पतालका अनुसार यो प्रविधिबाट मेरुदण्डको नसा च्यापिएको शल्यक्रिया कोशी प्रदेशमै पहिलो पटक गरिएको हो ।
शल्यक्रियाको नेतृत्व अर्थाे तथा स्पाइन सर्जन रुपेशजंग बेलवासेले गरेका थिए । उनी बिर्तासिटी अस्पतालका ट्रमा सर्जरी, जोइन्ट रिप्लेसमेन्ट र स्पोट्र्स इन्जुरी विभागको प्रमुखका रूपमा कार्यरत छन् । उनकै नेतृत्वको टिले लिम्बूको शल्यक्रिया गरेको थियो ।
डा.वेलवासेले चीनको पेकिङ विश्वविद्यालयमा सिकट छात्रवृत्तिमार्फत विशेष तालिम लिएपछि नेपालमा उक्त प्रविधि प्रयोगमा ल्याएका हुन् । उनले यो प्रविधि कोशी मै पहिलो पटक बिर्तासिटी अस्पतालमा भित्र्याएका हुन् ।
परम्परागत खुला शल्यक्रियाको तुलनामा एन्डोस्कोपिक विधिमा शरीरमा ठूलो चिरा लगाउनुपर्दैन । यसमा सानो आकारका दुई वटा प्वाल बनाएर विशेष दूरबिन र उपकरणको सहायताले मेरुदण्डको च्यापिएको नसासम्म पुगेर उपचार गरिन्छ डा वेलवासेले भने –‘यस विधिबाट उपचार गर्दा बिरामीलाई रड वा अतिरिक्त धातुजन्य संरचना राख्नुपर्ने आवश्यकता पर्दैन । शल्यक्रियापछि लामो समय ओछ्यानमा आराम गर्नुपर्ने बाध्यता पनि हट्छ ।
‘सामान्यतया अन्य विधिबाट गरिएको मेरुदण्डको शल्यक्रियापछि कम्तीमा एक महिना आराम गर्नुपर्ने अवस्था आउँछ,’ उनले भने, ‘तर एन्डोस्कोपिक प्रविधिमा बिरामी भोलिपल्टदेखि नै हिँडडुल गर्न सक्छ । घाउ सानो हुने भएकाले संक्रमणको जोखिम कम हुन्छ र निको हुने समय पनि छोटो हुन्छ ।’
उनका अनुसार न्यून चिरफार (मिनिमली इनभेसिभ) शल्यक्रिया प्रविधिले पछिल्ला वर्षहरूमा विश्वभर लोकप्रियता पाएको छ । कम रक्तस्राव, कम पीडा, छोटो अस्पताल बसाइ र छिटो पुनःस्थापना यसका प्रमुख विशेषता मानिन्छन् ।
नेपालमा भने यस्ता प्रविधि सीमित अस्पताल र चिकित्सकमा केन्द्रित छन् । राजधानी बाहिर, विशेषगरी प्रदेशस्तरमै यस्तो सेवा उपलब्ध हुन थालेपछि बिरामीलाई उपचारका लागि काठमाडौं वा भारत धाउनुपर्ने बाध्यता केही हदसम्म घट्ने अपेक्षा गरिएको डा. वेलवासेको भनाई छ ।
बिर्तासिटी अस्पतालका प्रशासनका अनुसार एन्डोस्कोपिक स्पाइन सर्जरीमा लाग्ने खर्च पनि तुलनात्मक रूपमा कम पर्न सक्छ । शल्यक्रियाका लागि दुई वटा साना प्वाल मात्र बनाउनुपर्ने, सामान्य टाँकाले काम चल्ने र घाउ छिट्टै निको हुने भएकाले बिरामीको आर्थिक तथा सामाजिक भार कम हुने दाबी गरिएको छ ।
उपचारपछि लिम्बूले स्वास्थ्यमा सुधार आएको बताउँदै उपचारमा संलग्न चिकित्सक र अस्पतालप्रति आभार व्यक्त गरेका छन् । ‘अब सामान्य जीवनमा फर्किन सक्ने आशा बढेको छ,’ उनले भने । दुरविन प्रविधिबाट शल्यक्रिया सफल भएपछि उनलाई वाडमा सारिएको छ । सामान्य हिनडुल गर्न सक्ने भएपछि लगत्तै डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।
को हुन् डा. रुपेशजंग बेलवासे ?
पछिल्ला वर्षहरूमा पूर्वी नेपालमा हाडजोर्नी उपचारमा आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको छ । यही परिवर्तनको अग्रपङ्क्तिमा देखिने चिकित्सकमध्ये एक हुन् डा. रुपेशजंग बेलवासे । घुँडा तथा हिप प्रत्यारोपण, आथ्र्रोस्कोपी र न्यून चिरफारमार्फत गरिने शल्यक्रियामा विशेषज्ञता हासिल गरेका बेलवासे अहिले झापाको बिर्तामोडस्थित पी.टी. बिर्तासिटी अस्पताल तथा रिसर्च सेन्टरमा ट्रमा सर्जरी, जोइन्ट रिप्लेसमेन्ट र स्पोट्र्स इन्जुरी विभागको प्रमुखका रूपमा कार्यरत छन् ।
ललितपुरको सैँबु निवासी बेलवासेले सन् २०१२ मा नेपाल मेडिकल कलेजबाट एमबीबीएस पूरा गरेका थिए । त्यसपछि भारतको बनारस हिन्दु विश्वविद्यालयबाट सन् २०१५ देखि २०१८ सम्म अर्थोपेडिक्स तथा ट्रमाटोलोजीमा एमएस अध्ययन गरे। अस्पताल व्यवस्थापनलाई पनि समान महत्त्व दिँदै उनले स्वामी विवेकानन्द सुभार्ती विश्वविद्यालयबाट एमबीए इन हस्पिटल एड्मिनिस्ट्रेसनसमेत गरेका छन् ।
उच्च शिक्षापछि उनले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालमा आथ्र्रोप्लास्टी र आथ्र्रोस्कोपीसम्बन्धी फेलोसिप गरे । त्यसपछि अष्ट्रियाको मेडिकल युनिभर्सिटी अफ भियनामा प्राध्यापक थोमस मुल्नरको मार्गदर्शनमा घुँडा र हिप प्रत्यारोपण तथा काँध र घुँडाको आथ्र्रोस्कोपीमा थप विशेषज्ञता हासिल गरे। सन् २०२३ मा हंगेरीको सेगेड विश्वविद्यालयमा एओ ट्रमा फेलोसिपसमेत पूरा गरेका थिए ।
बेलवासेको विशेषज्ञता हिप र घुँडाको प्रत्यारोपण, खेलकुदजन्य चोटपटकको उपचार, न्यून चिरफार शल्यक्रिया तथा रोबोटिक सहयोगमा गरिने जोइन्ट रिप्लेसमेन्टसम्म फैलिएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
3
विज्ञापन