one
विज्ञापन

धार्मिक आस्था, ऐतिहासिक परम्परा र स्थानीय समुदायको सहभागितालाई समेट्दै सम्पन्न फूलपाती बढाइँ.....

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । धरान–१४ विजयपुरस्थित ऐतिहासिक तथा प्रसिद्ध शक्तिपीठ दन्तकाली मन्दिरमा बडादसैँको महासप्तमी अर्थात् फूलपातीका अवसरमा नेपाली सेनाको सलामी, पञ्चेबाजा, नौमती बाजा, भजन–कीर्तन र धार्मिक शोभायात्रासहित नवपत्रिका भित्र्याइएको छ। परम्परागत धार्मिक विधिअनुसार सम्पन्न फूलपाती बढाइँ समारोहमा हजारौँ भक्तजनको सहभागिता रहेको थियो ।

दन्तकाली मन्दिर परिसरबाट सुरु भएको शोभायात्रा पिण्डेश्वर महादेव मन्दिर पुगेको थियो । नौ जातका वनस्पतिबाट तयार पारिएको नवपत्रिकासहितको शोभायात्राले पिण्डेश्वर मन्दिरमा विशेष पूजाअर्चना गरेपछि पुनः दन्तकाली मन्दिर पुगेर नवपत्रिका विधिपूर्वक भित्र्र्याएको हो । शोभायात्राका क्रममा पञ्चेबाजा, नौमती बाजा, भजन–कीर्तन र देवीको जयजयकारले विजयपुर क्षेत्र भक्तिमय बनेको थियो ।
समारोहमा नेपाली सेनाको टुकडीले विशेष सलामी गारतसहित हर्षबढाइँ गरेको थियो । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल स्काउट, विभिन्न धार्मिक तथा सामाजिक संघसंस्था र स्थानीयवासीको सहभागिताले फूलपाती बढाइँलाई थप भव्य बनाएको थियो ।
शिक्षाविद् तथा संस्कृतिविद् प्राध्यापक डाक्टर राजेन्द्र शर्माका अनुसार दन्तकाली मन्दिर सतीदेवीको दाँत पतन भएको पवित्र शक्तिपीठ हो । पुराणमा यस क्षेत्रलाई अट्टाहास क्षेत्रका रूपमा वर्णन गरिएको छ। दन्तकालीबाट नवपत्रिकासहितको शोभायात्रा पिण्डेश्वर महादेव मन्दिर पुगेर पूजाआजा गरी पुनः दन्तकालीमै भित्र्याउने परम्परा ऐतिहासिक र धार्मिक महत्त्व बोकेको चलन भएको उहाँको भनाइ छ ।

दन्तकाली मन्दिरका मूल पुजारी कमल भट्टराईका अनुसार नवपत्रिकामा केरा, अनार, धान, माने, हलेदो, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पति समावेश हुन्छन् । शास्त्रीय विधिअनुसार भित्र्र्यााइएका यी वनस्पतिलाई भगवतीका विभिन्न स्वरूपका रूपमा पूजा गर्ने परम्परा छ । महासप्तमीको साँझदेखि गरिने विशेष पूजामा नवपत्रिकाद्वारा भगवतीलाई महास्नान गराउने धार्मिक विधिसमेत रहेको उहाँले बताउनुभयो ।

धरान उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले स्थानीय तहको निर्वाचन २०७४ पछि फूलपाती बढाइँलाई थप व्यवस्थित र हर्षोल्लासपूर्ण बनाउँदै आएको जानकारी दिनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल स्काउट, धार्मिक संघसंस्था र स्थानीयवासीको सहकार्यमा विशेष पूजाआजासहित फूलपाती भित्र्याउने परम्परालाई निरन्तरता दिइएको उहाँले बताउनुभयो।

फूलपाती भित्र्याएसँगै दन्तकाली मन्दिरमा महाअष्टमी र महानवमीका विशेष धार्मिक तथा तान्त्रिक पूजाको तयारीसमेत गरिएको छ । बडादसैँको अवसरमा विजयपुरस्थित दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा र पञ्चकन्या मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनको चहलपहल बढेको छ ।
धार्मिक आस्था, ऐतिहासिक परम्परा र स्थानीय समुदायको सहभागितालाई समेट्दै सम्पन्न फूलपाती बढाइँले धरानको विजयपुर क्षेत्रको सांस्कृतिक पहिचान र धार्मिक पर्यटनको महत्त्वलाई पुनः उजागर गरेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
6
विज्ञापन
0
विज्ञापन