one
विज्ञापन

दशैँका धार्मिक तथा सांस्कृतिक विधिविधानबारे जानकारी दिँदै व्यावहारिक अभ्यासमार्फत संस्कार सिकाइ ,हाम्रो मन्टेश्वरी विद्यालय

Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको महत्त्व भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले धरान–१ स्थित हाम्रो मन्टेश्वरीले विद्यालय परिसरमै बडादशैँ तथा दुर्गा पूजा विशेष कार्यक्रम आयोजना गरेको छ । बालबालिकालाई दशैँका धार्मिक तथा सांस्कृतिक विधिविधानबारे जानकारी दिँदै व्यावहारिक अभ्यासमार्फत संस्कार सिकाइएको छ ।

पछिल्लो समय पश्चिमा संस्कृतिको बढ्दो प्रभावका कारण नेपाली मौलिक चाडपर्व र परम्पराप्रति नयाँ पुस्ताको आकर्षण घट्दै गएको चिन्ता व्यक्त भइरहेका बेला हाम्रो मन्टेश्वरीले बालबालिकालाई आफ्नै संस्कार र संस्कृतिसँग जोड्ने प्रयास गरेको हो । दशैँलाई खानपान, नयाँ लुगा र बिदामा मात्र सीमित नराखी यसको सांस्कृतिक महत्त्व, सामाजिक सद्भाव र मान्यजनप्रतिको सम्मान बुझाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रमको सुरुवात वैदिक विधिअनुसार गणेश भगवानको पूजा गरेर गरिएको थियो। त्यसपछि दुर्गा भवानीको आराधना तथा स्तुतिसँगै नौ जना बालिकालाई सहभागी गराएर नवकन्या पूजा सम्पन्न गरिएको थियो। हिन्दू परम्पराअनुसार कन्याहरूलाई नवदुर्गाको प्रतीक मानेर पूजाआजा गर्दै सम्मान प्रकट गरिएको थियो । पूजापाठपछि बालबालिकालाई रातो टीका र पहेँलो जमरा लगाइदिएर दशैँको आशीर्वाद ग्रहण गराइएको थियो । साथै, दुर्गा माताको पूजा गर्नुको महत्त्व, टीका र जमरा लगाउने परम्परा तथा मान्यजनबाट टीका लगाएपछि दक्षिणा लिने चलनबारे समेत बालबालिकालाई सरल भाषामा जानकारी दिइएको थियो ।
विद्यालयकी सञ्चालक सीता मैनालीका अनुसार बालबालिकालाई किताबी ज्ञानमा मात्र सीमित नराखी चाडपर्वका संस्कारमा प्रत्यक्ष सहभागी गराउँदा उनीहरूले त्यसको महत्व सहज रूपमा बुझ्न सक्छन् । सानै उमेरदेखि आफ्नै धर्म, संस्कृति र परम्पराबारे जानकारी गराउन सके भावी पुस्ताले मौलिक पहिचानको संरक्षणमा योगदान पु¥याउने उहाँको विश्वास छ ।

कार्यक्रममा बालबालिकाले दशैँका परम्परागत गीत, मालश्री धुन तथा बालगीतमा सामूहिक नृत्य प्रस्तुत गरेका थिए । दौरा–सुरुवाल, ढाकाटोपी र गुन्यु–चोलीजस्ता परम्परागत नेपाली पोशाकमा सजिएका बालबालिकाको सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
चाडपर्वसँग जोडिएका यस्ता व्यावहारिक गतिविधिले बालबालिकामा सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै आपसी सद्भाव, अनुशासन, कृतज्ञता र अग्रजप्रतिको सम्मानजस्ता मानवीय गुणको विकासमा सहयोग पुग्ने विद्यालयको विश्वास छ । संस्कार र संस्कृतिको संरक्षण घरपरिवारमा मात्र सीमित नराखी विद्यालय तहबाटै सिकाउनुपर्ने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने विद्यालयले जनाएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
4
विज्ञापन