धरान । कुनै समय बडादसैँको नवरात्र (नौरथा) सुरु भएसँगै धरानको विजयपुर डाँडा बिहानैदेखि भक्तजनको चहलपहल, भजनकीर्तन गुञ्जायमान हुन्थ्यो । घटस्थापनादेखि नै बिहान ३ बजेदेखि युवायुवती तथा बालबालिकाहरू समूह बनाएर गीत गाउँदै दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा र पञ्चकन्या मन्दिर दर्शन गर्न पुग्थे । उकालो बाटोमा लाग्ने दर्शनार्थीको ताँतीले विजयपुरको धार्मिक रौनकसँगै सामाजिक मेलमिलाप र सांस्कृतिक उत्सवको झल्को दिन्थ्यो । तर, समयक्रमसँगै धरानको यो मौलिक परम्परा ओझेलमा पर्दै गएको छ । यस वर्षको नौरथामा समेत विजयपुरका मन्दिरहरूमा बिहानै पुग्ने युवायुवती र बालबालिकाको उपस्थिति निकै पातलो देखिएको छ ।
विगतमा धरानका पुराना बजार, भानुचोक, छाताचोक, रत्नचोक तथा आसपासका बस्तीबाट युवाहरू हातमा गितार, मादल, बाँसुरी बोकेर विजयपुर उक्लिन्थे । भजनसँगै लोक तथा आधुनिक गीत गाउँदै मन्दिर दर्शन गर्ने र साथीभाइसँग भेटघाट गर्ने परम्परा नौरथाको विशेष आकर्षण थियो । दर्शन गरेर फर्कँदा बिहान उज्यालो हुन्थ्यो भने मन्दिर आसपासका चिया, सेलरोटी र फलफूल पसलहरूमा समेत चहलपहल बढ्थ्यो । अहिले भने बिहान ३ देखि ६ बजेसम्मको समयमा समेत मन्दिर पुग्ने युवा पुस्ता नगन्य देखिन थालेको छ ।
दन्तकाली शक्तिपीठका मूल पूजारी कमल भट्टराईका अनुसार कोरोना महामारीपछि नौरथामा बिहानै मन्दिर घुम्न आउनेको संख्या घट्दै गएको हो । महामारीका बेला रोकिएको बिहानको हिँडडुल र जमघट पुरानै लयमा फर्कन नसकेको उहाँले बताउनुभयो । पहिले घटस्थापनादेखि नै विद्यालय तथा कार्यालयमा बिदा हुने गरेकामा अहिले फूलपाती वा सप्तमीदेखि मात्र बिदा हुँदा विद्यार्थी र अभिभावकलाई बिहान मन्दिर जान कठिन भएको उहाँको भनाइ छ । यद्यपि, विधिपूर्वक पूजा गर्न आउने भक्तजनको उपस्थिति भने कायम रहेको उहाँले बताउनुभयो ।
सुनसरी उद्योग वाणिज्य संघ धरानका महासचिव तथा धरान–१४ का स्थानीय प्रभात खतिवडा पनि नौरथाको पुरानो रौनक घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । पहिले दर्शनार्थीको भीडले बाटोमै हिँड्न कठिन हुने गरेको स्मरण गर्दै उहाँले मानिसको बढ्दो व्यस्तता, बिदा तालिकामा आएको परिवर्तन र धार्मिक आस्थामा आएको सम्भावित कमीलाई यसको कारणका रूपमा औँल्याउनुभयो ।
तर, स्थानीय युवा अनिल मास्के भने नयाँ पुस्ताको रुचि परिवर्तनलाई मात्र दोष दिन नहुने बताउनुहुन्छ । उहाँका अनुसार युवालाई आकर्षित गर्ने गरी मन्दिर परिसर र आसपासको वातावरण विकास गर्न नसक्नु पनि समस्याको एउटा कारण हो । विजयपुरका मन्दिरलाई आकर्षक बनाउँदै बिहान मन्दिर घुम्नु आनन्ददायी अनुभव हो भन्ने वातावरण सिर्जना गर्न वडा नं. १४ र विजयपुर आध्यात्मिक मञ्चलगायतका संस्थाले पहल गर्नुपर्ने उहाँको सुझाव छ ।
दन्तकाली माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक श्रीप्रसाद कोइरालाले बजार क्षेत्रमा टोलैपिच्छे दुर्गा पूजा पण्डाल निर्माण हुन थालेपछि भक्तजनको उपस्थिति विभिन्न स्थानमा बाँडिएको हुन सक्ने बताउनुभयो । उहाँका अनुसार विगतमा विजयपुरका मठमन्दिर धरानवासीको दसैँको प्रमुख धार्मिक गन्तव्य हुने गरेकामा अहिले बजार क्षेत्रमै पूजा, भजनकीर्तन र सांस्कृतिक गतिविधि बढेका छन् ।
हिन्दू धार्मिक मान्यताअनुसार सतीदेवीको दाहिने दाँत पतन भएको स्थलका रूपमा दन्तकालीलाई अन्य शक्तिपीठजस्तै विशेष शक्तिपीठको रुपमा मानिन्छ । दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा र पञ्चकन्या मन्दिरको दर्शन गर्ने परम्परा धरानको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको छ । त्यसैले नौरथाको रौनक घट्नु केवल भक्तजनको संख्यामा आएको कमी मात्र नभई पुस्तान्तरणसँगै मौलिक परम्परा कमजोर हुँदै गएको संकेत पनि हो ।
यस परम्परालाई पुनर्जीवित गर्न विजयपुरका मन्दिर र उकालो बाटोलाई आकर्षक बनाउने, बिहान सांस्कृतिक पदयात्रा तथा साङ्गीतिक कार्यक्रम आयोजना गर्ने र युवामैत्री प्रचारप्रसार बढाउने आवश्यकता देखिएको छ । विद्यालय, युवा क्लब, मन्दिर व्यवस्थापन समिति, स्थानीय सरकार र बजार क्षेत्रका दुर्गा पूजा आयोजकबीच समन्वय गर्न सके नौरथाको उत्सवलाई अझ व्यापक बनाउन सकिन्छ ।
विजयपुरका मन्दिरहरू धार्मिक आस्थाका केन्द्र मात्र होइनन्, धरानको इतिहास, सामाजिक एकता र सांस्कृतिक स्मृतिका धरोहर पनि हुन् । समयअनुसार उत्सव मनाउने शैली परिवर्तन भए पनि त्यसको मौलिकता र सामूहिक सहभागिता जोगाउन सके मात्रै नौरथाको पुरानो उल्लास नयाँ पुस्तामा हस्तान्तरण गर्न सकिनेछ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।