one
विज्ञापन

हिन्दु धर्मावलम्बीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रिको पहिलो दिन घटस्थापनासँगै धरानमा सार्वजनिक दुर्गा पूजाको रौनक सुरु........

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रिको पहिलो दिन घटस्थापनासँगै धरानमा सार्वजनिक दुर्गा पूजाको रौनक सुरु भएको छ । ऐतिहासिक दन्तकाली शक्तिपीठदेखि पुरानो बजार, लक्ष्मी सडक, आचार्य लाइन र रेल्वेसम्म विभिन्न स्थानमा घटस्थापना, कलश स्थापना तथा दुर्गा पूजाका लागि आकर्षक मण्डप निर्माण गरी धार्मिक अनुष्ठान सुरु गरिएको छ ।

धरान–१४ विजयपुरस्थित दन्तकाली मन्दिरमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको शुभ साइतअनुसार बिहान ११ बजेर ४७ मिनेटमा घटस्थापना गरी जमरा राखिएको छ । यस्तै, धरानका विभिन्न बस्ती र व्यापारिक केन्द्रमा सार्वजनिक दुर्गा पूजाका लागि मूर्ति स्थापना, पण्डाल निर्माण तथा दैनिक पूजापाठको तयारी पूरा गरिएको छ ।
नेपालका चार प्रमुख शक्तिपीठमध्ये पूर्वको प्रमुख शक्तिपीठका रूपमा परिचित दन्तकाली मन्दिरमा घटस्थापनाका दिन बिहानैदेखि श्रद्धालुको चहलपहल बढेको थियो । सतीदेवीको दाँत पतन भएको पवित्र स्थलका रूपमा धार्मिक मान्यता रहेको यस मन्दिरमा नवरात्रभरि विशेष पूजाआराधना गरिन्छ । दन्तकाली मन्दिरका मूल पूजारी कमल भट्टराईका अनुसार घटस्थापनाको साइतबारे विभिन्न माध्यमबाट अन्योलपूर्ण चर्चा भए पनि पञ्चाङ्ग समितिले निर्धारण गरेको समयमै मन्दिरमा विधिपूर्वक पूजा सम्पन्न गरी जमरा राखिएको हो ।
उहाँले नवरात्रको पहिलो दिनदेखि सुरु हुने अनुष्ठानमा जमरा भगवतीको प्रसादका रूपमा ग्रहण गरिने बताउनुभयो । मन्दिरमा नित्य र नैमित्तिक गरी दुई प्रकारका पूजा हुने उल्लेख गर्दै उहाँले प्रतिपदादेखि पञ्चमीसम्म नियमित पूजा, षष्ठीमा बेल निमन्त्रणा, सप्तमीमा नवपत्रिका प्रवेश, अष्टमीमा कालरात्रि पूजा र नवमीमा महिषासुरमर्दिनी पूजा गरिने जानकारी दिनुभयो । दशमीका दिन जय, विजय र अपराजिताको पूजा गरी नवरात्रको अनुष्ठान सम्पन्न गरिने उहाँको भनाइ छ ।

परम्परागत शक्तिपीठमा धार्मिक विधिअनुसार पूजा चलिरहँदा धरानका विभिन्न टोलमा पनि सार्वजनिक दुर्गा पूजाको उत्साह देखिएको छ । धरान–२ मा स्थानीय भक्तजन, महिला तथा युवाको सहभागितामा कलश यात्रा निकालिएको छ । कलश यात्रापछि मण्डपमा कलश स्थापना गरी दैनिक पूजाआराधना सुरु गरिएको दुर्गा पूजा व्यवस्थापनमा सक्रिय चन्दन चौधरीले बताउनुभयो ।

यस वर्ष धरान–३ स्थित चिनियाँ चोक तथा पुरानो बजार क्षेत्रमा सार्वजनिक दुर्गा पूजाको विशेष आकर्षण देखिने भएको छ । विगतका वर्षमा भागवत रोडमा आयोजना हुँदै आएको सार्वजनिक नवदुर्गा पूजा यसपटक ठाउँको अभाव भएपछि पुरानो बजारस्थित गणेश भण्डार परिसरमा सारिएको हो । सार्वजनिक दुर्गा पूजा समारोहकी संयोजक ममता पौड्यालका अनुसार भागवत रोडमा घर तथा भवन निर्माण बढ्दै गएपछि पूजा सञ्चालनका लागि पर्याप्त खुला ठाउँ अभाव भएको थियो । त्यसपछि गणेश भण्डारका सञ्चालकले उपलब्ध गराएको स्थानमा आकर्षक पण्डाल निर्माण गरी दुर्गा पूजा आयोजना गरिएको उहाँले बताउनुभयो ।

पूजा स्थलमा दुर्गालगायत देवीदेवताका मूर्ति स्थापना गरी भक्तजनका लागि पूजाआराधना गर्ने व्यवस्था मिलाइएको छ । मूर्ति निर्माण, पण्डाल तथा अन्य व्यवस्थापनसहित यस वर्षको पूजामा करिब सात लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको संयोजक पौड्यालले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयवासी, व्यवसायी तथा शुभेच्छुकको सहयोगबाट पूजा सञ्चालन भइरहेको छ । धरान–१ स्थित लक्ष्मी सडकमा पनि स्थानीय व्यवसायी तथा समाजसेवी सीताराम आचार्यको संयोजनमा दुर्गा पूजाका लागि विशेष व्यवस्था गरिएको छ । व्यापारिक क्षेत्रलाई झिलिमिली बत्ती र आकर्षक सजावटले सिँगार्दै धार्मिक वातावरण निर्माण गरिएको छ । त्यसैगरी, धरान–९ को आचार्य लाइनमा दिनेश चौधरीको संयोजनमा स्थानीयवासीको सहभागितामा दुर्गा पूजा समारोह समिति गठन गरी दैनिक सन्ध्या आरती तथा भजनकीर्तनको व्यवस्था मिलाइएको छ । धरान–१७ रेल्वे क्षेत्रमा पनि स्थानीय दुर्गा पूजा समितिको अगुवाइमा दुर्गा मूर्ति स्थापना गरी नवरात्रभरि नियमित पूजाआराधना गर्ने तयारी गरिएको छ । धरानमा सार्वजनिक दुर्गा पूजाको विस्तार धार्मिक आस्थासँगै सामाजिक सद्भाव र सांस्कृतिक सहकार्यको उदाहरणका रूपमा देखिँदै आएको छ । बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक पहिचान बोकेको धरानमा विभिन्न समुदायको सहभागिताले यस पर्वलाई थप विशेष बनाएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
2
विज्ञापन
0
विज्ञापन