one
विज्ञापन

साँगुरीगढी गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ नाम्जेमा सञ्चालित होमस्टे साथसाथै आन्तरिक तथा बाह्य पर्यटकसँगै विद्यार्थीका लागि पनि अध्ययन तथा अनुसन्धानको आकर्षक गन्तव्य......

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

साँगुरीगढी । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ नाम्जेमा सञ्चालित होमस्टे पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकसँगै विद्यार्थीका लागि पनि अध्ययन तथा अनुसन्धानको आकर्षक गन्तव्य बन्न थालेको छ । प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र मौलिक जीवनशैलीका कारण पर्यटकको रोजाइमा पर्दै आएको नाम्जेमा विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरू शैक्षिक तथा व्यावहारिक अध्ययनका लागि पुग्न थालेका छन् ।

यसैक्रममा होलिल्याण्ड इन्टरनेशनल कलेजका विद्यार्थीहरूले नाम्जे पुगेर स्थलगत अध्ययन तथा फिल्ड वर्क गरेका छन् । होटल म्यानेजमेन्ट तथा टुरिजम विषय अध्ययनरत विद्यार्थीहरूले नाम्जेको स्थानीय पर्यावरण, वनस्पति, औषधीय जडिबुटी, हर्बेरियम संकलन तथा स्थानीय होमस्टेको आतिथ्यता र व्यवस्थापकीय पक्षबारे प्रत्यक्ष अध्ययन गरेका हुन् ।
स्थलगत अध्ययनका क्रममा विद्यार्थीहरूले कक्षाकोठामा सैद्धान्तिक रूपमा अध्ययन गरेका वनस्पति तथा जडिबुटीलाई प्रत्यक्ष रूपमा चिन्ने र तिनका विशेषता तथा उपयोगिताबारे जानकारी लिएका थिए । विद्यार्थी विलसन राईले कक्षाकोठामा पढेका विषयलाई प्रकृतिको काखमा पुगेर प्रत्यक्ष रूपमा बुझ्न पाउँदा नयाँ अनुभव भएको बताउनुभयो ।
उहाँले विभिन्न प्रकारका फूल तथा बिरुवाका विशेषता र मानव स्वास्थ्यमा हुने फाइदाबारे शिक्षकबाट जानकारी लिएको बताउँदै थप वनस्पतिहरूको नमुना संकलन गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँका अनुसार किताबमा मात्र पढेका विषयलाई प्रत्यक्ष रूपमा देख्न, छुन र त्यसबारे जानकारी लिन पाउँदा अध्ययन अझ प्रभावकारी भएको छ ।

हर्बेरियम संकलनमा सहभागी विद्यार्थीहरूले नाम्जेको माथिल्लो भेगमा पाइने विभिन्न प्रजातिका वनस्पतिको नमुना संकलन गरेका छन् । विद्यार्थीहरूका अनुसार ८ देखि १० प्रकारका वनस्पतिका नमुना संकलन गरेका थिए भने करिब १५ देखि १६ प्रकारका नमुना संकलन गर्ने लक्ष्य राखिएको थियो । चिसो मौसम तथा वर्षायाममा पाइने स्थानीय वनस्पतिहरूको नमुना संकलन गरी हर्बेरियम तयार गर्ने काम भइरहेको उनीहरूले बताएका छन् ।

स्थलगत अध्ययनका क्रममा विद्यार्थीहरूले औषधीय जडिबुटीको समेत पहिचान गरेका छन् । उनीहरूले सेन्टेला अर्थात् घोडताप्रे नामक वनस्पतिको नमुना संकलन गर्दै यसको औषधीय तथा सौन्दर्यसम्बन्धी उपयोगिताबारे जानकारी लिएका थिए । विद्यार्थीहरूका अनुसार सेन्टेला छाला तथा अनुहारको सौन्दर्यका लागि उपयोगी मानिनुका साथै अन्य औषधीय गुणसमेत रहेको जानकारी उनीहरूले स्थलगत अध्ययनबाट पाएका छन् ।
वनस्पति अध्ययनकै क्रममा विद्यार्थीहरूले कोसेबाली तथा अन्य वनस्पतिको जरामा पाइने गाँठो अर्थात् रुट नोडुल्सको समेत प्रत्यक्ष अध्ययन गरेका थिए । जरामा पाइने यस्ता गाँठोमा रहेका सूक्ष्मजीवले वायुमण्डलमा रहेको नाइट्रोजनलाई स्थिरीकरण गरी माटोको उर्वराशक्ति बढाउन सहयोग गर्ने प्राकृतिक प्रक्रियाबारे विद्यार्थीलाई स्थलगत रूपमा जानकारी दिइएको थियो । यसले विद्यार्थीलाई पुस्तकमा पढेको जैविक तथा पर्यावरणीय प्रक्रियालाई प्रत्यक्ष रूपमा बुझ्ने अवसर दिएको थियो ।
होलिल्याण्ड इन्टरनेशनल कलेजका सीईओ लोकेन्द्र श्रेष्ठले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी वास्तविक व्यावसायिक तथा प्राकृतिक परिवेशसँग जोड्न फिल्ड वर्कका लागि नाम्जे ल्याइएको बताउनुभयो । होटल म्यानेजमेन्ट र टुरिजम विषयका विद्यार्थीका लागि परियोजना कार्यअन्तर्गत स्थलगत अध्ययन गराइएको उहाँको भनाइ छ । श्रेष्ठका अनुसार विद्यार्थीहरूले नाम्जेका होमस्टे तथा स्थानीय होटल सञ्चालकहरूले व्यवसाय कसरी सञ्चालन गरिरहेका छन्, पर्यटकलाई कस्ता सेवा तथा सुविधा दिइरहेका छन् र भेडेटार–नाम्जे क्षेत्रमा पर्यटकका लागि उपलब्ध मनोरञ्जन तथा पर्यटकीय गतिविधि के–कस्ता छन्लगायत, होटल तथा होमस्टे सञ्चालक, स्थानीय व्यवसायी र पर्यटकसँग प्रत्यक्ष संवाद गर्दा विद्यार्थीले व्यावसायिक अनुभव र व्यवहारिक ज्ञान हासिल गर्न सक्ने उहाँले बताउनुभयो ।

कक्षाकोठामा गरिने पठनपाठनभन्दा फिल्डमा पुगेर गरिने सिकाइ धेरै प्रभावकारी हुने भएकोले यस्ता स्थलगत अभ्यासले विद्यार्थीमा व्यावसायिक आत्मविश्वाससमेत बढाउने बताइएको छ । प्राकृतिक सौन्दर्यसँगै मगर संस्कृति, स्थानीय आतिथ्यता, मौलिक परिकार र विशिष्ट भौगोलिक पहिचानका कारण नाम्जे लामो समयदेखि पर्यटकको आकर्षणको केन्द्र बन्दै आएको छ । पछिल्ला वर्षमा नाम्जेमा पर्यटनसँगै शैक्षिक तथा अनुसन्धानात्मक गतिविधिसमेत बढ्दै जान थालेका छन् । होमस्टेमा आउने पर्यटकसँगै विद्यार्थीहरूका लागि पनि नाम्जे खुला प्रयोगशालाजस्तै बन्दै गएको आभाष हुन थालेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
4
विज्ञापन
2
विज्ञापन