one
विज्ञापन

स्मार्ट बसपार्क सञ्चालनमा आएपछि यातायात व्यवसायीले यात्रु नपाएको र व्यवसाय प्रभावित भएको भन्दै भानुचौकसम्मै सार्वजनिक सवारी सञ्चालन गर्न पाउनुपर्ने माग ......

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । धरान उपमहानगरपालिका–८ स्थित स्मार्ट बसपार्क सञ्चालनमा आएपछि यातायात व्यवसायीले यात्रु नपाएको र व्यवसाय प्रभावित भएको भन्दै भानुचौकसम्मै सार्वजनिक सवारी सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै आएका थिए । व्यवसायीको माग सम्बोधन गर्न केही समयका लागि पिक एन्ड ड्रप सुविधा दिने गरी भएको पूर्वसहमतिबाट धरान उपमहानगरपालिका पछि हटेको छ । धरान–७ र ८ का स्थानीय बासिन्दाको चर्को विरोधपछि उपमहानगरपालिकाले भानुचौकमा कुनै पनि सार्वजनिक सवारी साधन रोक्न र स्ट्यान्ड सञ्चालन गर्न नदिने निर्णय गरेको हो ।

उपमहानगरपालिकाले यात्रुको सहजताका लागि भोलि बिहान ४ बजेदेखि भानुचौकबाट स्मार्ट बसपार्कसम्म निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ । त्यसका लागि उपमहानगरपालिकाका दुईवटा माइक्रोबस परिचालन गरिने कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले जानकारी दिनुभएको छ ।
स्मार्ट बसपार्कमा सवारी सञ्चालन गर्दा यात्रु नपाएको र व्यवसाय धराशायी हुने अवस्था आएको भन्दै यातायात व्यवसायीले गुनासो गरेपछि उपमहानगरपालिकाले पिक एन्ड ड्रपका नाममा केही बेर यात्रु चढाउन र ओराल्न भानुचौकसम्म सवारी ल्याउन दिने सहमति गरेको थियो । तर, भानुचौकमा पुनः सवारी साधन प्रवेश गराउँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने र नयाँ बसपार्कको औचित्यमाथि नै प्रश्न उठ्ने भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका थिए ।
धरान ८ का स्थानीय बासिन्दा तथा उपमहानगरपालिकाबीच भएको छलफलपछि भानुचौकमा सार्वजनिक सवारी रोक्न नदिने र यात्रुको सुविधाका लागि भानुचौकदेखि स्मार्ट बसपार्कसम्म निःशुल्क सटल सेवा सञ्चालन गर्ने सहमति भएको हो ।

छलफलमा कार्यवाहक मेयर बेघाले स्थानीयको मागअनुसार भानुचौकमा सार्वजनिक सवारी रोक्ने तथा स्ट्यान्ड राख्ने कार्य पूर्ण रूपमा बन्द गरिने स्पष्ट पार्नुभयो ।
उहाँले प्रशासनसँग समेत समन्वय र सहकार्य गरेर स्मार्ट बसपार्कसम्बन्धी निर्णय कडाइका साथ कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो । अब ठूला बस मात्र नभई सबै यातायात व्यवसायीले स्मार्ट बसपार्कबाटै सेवा सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।

छलफलमा सहभागी स्थानीय बासिन्दाले भने उपमहानगरपालिकाले निर्णय गरेपछि पटकपटक परिवर्तन गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने भन्दै नेतृत्वलाई सचेत गराएका थिए । उनीहरूले भानुचौकमा पिक एन्ड ड्रपका नाममा सवारी रोक्न दिँदा पुनः पुरानै अवस्था दोहोरिने भन्दै सबै प्रकारका सार्वजनिक सवारी साधनलाई स्मार्ट बसपार्कबाटै सञ्चालन गर्ने व्यवस्था मिलाउन माग गरेका थिए ।
स्थानीयले ठूला बससँगै पहाडी रुटमा चल्ने सवारी, विद्युतीय सवारी (इभी) तथा अन्य साना चारचक्के सार्वजनिक सवारीलाई समेत स्मार्ट बसपार्कबाटै सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन ्।
यसैबीच स्थानीय अगुवा सुवास श्रेष्ठले उपमहानगरपालिकाले यसअघि गरेको सहमति सच्याएर पुरानै निर्णयमा फर्कनु समग्र धराने जनताको हितमा रहेको बताउनुभयो । स्मार्ट बसपार्क वडा नं. ८ को मात्र नभई समग्र धरानको साझा सम्पत्ति भएकाले यसको पूर्ण उपयोग हुनुपर्ने उहाँको भनाइ थियो ।

स्थानीयहरुले निर्णय कार्यान्वयनमा कुनै पक्षबाट अवरोध भए स्थानीय बासिन्दा आफैँ सक्रिय भएर कार्यान्वयन गराउन तयार रहेकोसमेत बताएका छन् । स्मार्ट बसपार्क सञ्चालनमा आएपछि भानुचौकमा सार्वजनिक सवारीको चाप घटाउने र व्यवस्थित यातायात सेवा सञ्चालन गर्ने उपमहानगरपालिकाको उद्देश्य रहेको छ । तर, बसपार्कमा यात्रु अभाव भएको व्यवसायीको गुनासो र भानुचौकमा पुनः सवारी सञ्चालन हुन नदिनुपर्ने स्थानीयको अडानबीच देखिएको विवाद समाधान गर्न निःशुल्क सटल सेवा सञ्चालन गर्ने निर्णय गरिएको हो । अब उक्त निर्णयको प्रभावकारी कार्यान्वयनसँगै स्मार्ट बसपार्कलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने चुनौती उपमहानगरपालिकासामु देखिएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
2
विज्ञापन
4
विज्ञापन