one
विज्ञापन

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धरान उपमहानगरपालिकामा वडा तहदेखि नगरसम्मको नेतृत्व चयन.......

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धरान उपमहानगरपालिकामा वडा तहदेखि नगरसम्मको नेतृत्व चयन प्रक्रिया सर्वसम्मत रूपमा सम्पन्न भएको छ । २० वटै वडामा कार्यसमिति र ६०६ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध चयन भएपछि नगर कार्यसमितिसमेत निर्विरोध चयन गरिएको हो । धरान कांग्रेसको अधिवेशनले गुट–उपगुटभन्दा माथि उठेर संगठनलाई एकढिक्का बनाउने र आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउने सन्देश दिएको छ ।
असोज ३ र ४ गते सम्पन्न वडा अधिवेशनबाट धरानका २० वटै वडामा निर्वाचन नगरी कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरिएको थियो । २० वटै वडाबाट ६०६ जना क्षेत्रीय प्रतिनिधिसमेत सर्वसम्मत रूपमा चयन भएपछि नगर नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको थियो । निर्वाचन अधिकृत विष्णु बरालद्वारा जारी प्रमाणित नामावलीअनुसार नगर सभापतिमा नरेन्द्र कुमार राई ‘प्रविण’ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
उपसभापतिमा हिमाल श्रेष्ठ, महिला उपसभापतिमा शिला श्रेष्ठ बज्राचार्य, सचिवमा सागर प्रसाई र सहसचिवमा किरण आचार्य निर्विरोध चयन हुनुभएको छ । नगर कार्यसमितिका अन्य सदस्यहरू पनि विभिन्न वडा, महिला, युवा तथा दलित क्लस्टरबाट सर्वसम्मत चयन भएका छन् ।
पद तथा गोपनीयताको सपथ लिएपछि नवनिर्वाचित सभापति नरेन्द्र कुमार राई ‘प्रविण’ले विगतका तीतामीठा बिर्सिएर नयाँ ढंगले संगठन अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । गुट–उपगुटका कारण विगतमा देखिएका असमझदारी अन्त्य गर्दै सबैलाई समेटेर कांग्रेसलाई एकढिक्का बनाउने उहाँको भनाइ छ ।

सहमति र एकताबाट नयाँ नेतृत्व चयन भएपछि धरान कांग्रेसमा नयाँ ऊर्जा थपिएको नवनिर्वाचित सचिव सागर प्रसाईले बताउनुभयो । विगतका निर्वाचनमा पार्टीले भोगेको पराजयको समीक्षा गर्दै संगठनलाई वडादेखि नै सक्रिय र व्यवस्थित बनाउने उहाँको भनाइ छ ।
संगठन शुद्धीकरण गर्दै २० वटै वडामा पार्टीलाई सक्रिय बनाउने र आगामी २०८४ को निर्वाचनमा धरानमा कांग्रेसलाई बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने नयाँ नेतृत्वको योजना छ ।

धरान कांग्रेसको नगर अधिवेशन सर्वसम्मत बनाउन निवर्तमान सभापति श्याम पोख्रेलको पद त्यागलाई पनि महत्वपूर्ण मानिएको छ । पार्टी विधानले पुनः सभापति बन्ने वा अन्य तहमा दाबी गर्ने अधिकार दिए पनि संगठनको एकता र सबैलाई समेट्ने उद्देश्यले आफूले पदको दाबी नगरेको पोख्रेलले बताउनुभएको छ ।

पोख्रेलका अनुसार २० वटै वडामा क्षेत्रीय प्रतिनिधि निर्विरोध चयन हुनु र त्यसपछि नगर कार्यसमितिसमेत सर्वसम्मत बन्नुले धरान कांग्रेसभित्र एकताको सन्देश दिएको छ । पार्टीमा नेता मात्र नभई धराने जनताको नेता भएर सेवा गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
विगतको स्थानीय निर्वाचनमा कांग्रेसले भोगेको पराजयपछि धरान कांग्रेसभित्र संगठन सुदृढीकरण र आन्तरिक एकताको आवश्यकता महसुस हुँदै आएको थियो । यसपटक भने नेतृत्वका आकांक्षीहरूबीच सहमति कायम गर्दै पुरानो र नयाँ पुस्तालाई समेटेर वडा तहदेखि नगरसम्म सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।
यसैबीच नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनको कार्यतालिकालाई लिएर पार्टीभित्र फरक धारणा देखिएको छ । केन्द्रीय निर्वाचन समितिले अघि बढाएको कार्यतालिकाअनुसार १५ औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने तयारी छ । तर, पार्टी सभापति शेरबहादुर देउवा पक्षले भने मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने गरी छुट्टै कार्यतालिका अघि सारेको छ । केन्द्रीय तहमा महाधिवेशनको मिति र प्रक्रियालाई लिएर मतभिन्नता देखिए पनि धरानमा भने स्थानीय तहमा रहेका विभिन्न समूह र पुराना तथा नयाँ नेतृत्वबीच सहमति कायम गर्दै नगर कार्यसमिति निर्विरोध चयन भएको छ । धरानबाट सर्वसम्मत चयन भएका ६०६ जना क्षेत्रीय प्रतिनिधिले अब सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशन तथा त्यसपछिका संगठनात्मक प्रक्रियामा भूमिका निर्वाह गर्नेछन् ।
नयाँ नेतृत्वले भने अधिवेशनमा बनेको सहमतिलाई संगठन निर्माणमा रूपान्तरण गर्ने जनाएको छ । विगतको निर्वाचन परिणामको समीक्षा, संगठन शुद्धीकरण, २० वटै वडामा पार्टी गतिविधि विस्तार र जनतासँगको सम्बन्धलाई प्राथमिकतामा राख्दै २०८४ को निर्वाचनमा कांग्रेसलाई धरानमा बलियो बनाउने उसको योजना अगाडि सारिएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
6
विज्ञापन