one
विज्ञापन

धरान–८ तीनकुने स्थित बाबा विश्वकर्मा मन्दिरमा सवारीसाधन तथा यन्त्र पूजा गर्न श्रद्धालुहरूको उल्लेख्य उपस्थिति.......

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । धरान–८ तीनकुनेस्थित बाबा विश्वकर्मा मन्दिरमा विश्वकर्मा पूजाको अवसरमा बिहीबार बिहान ४ बजेदेखि नै श्रद्धालु तथा सवारीसाधन धनीहरूको घुइँचो लागेको छ । भगवान् विश्वकर्माको पूजाआराधना गर्दै वर्षभरि सवारीसाधन सुरक्षित रूपमा सञ्चालन होस्, दुर्घटनाबाट बच्न सकियोस् र मेसिनरी उपकरणमा कुनै खराबी नआओस् भन्ने कामनासहित भक्तजनहरू बिहानैदेखि मन्दिरमा लामबद्ध भएका हुन् ।

असोज १ गते मनाइने विश्वकर्मा पूजाका अवसरमा धरानका विभिन्न स्थानबाट मोटरसाइकल, कार, बस, ट्रक, टिपरलगायतका सवारीसाधन मन्दिर परिसरमा ल्याइएको थियो । सवारीसाधनका धनी, चालक, उद्योगी, मेसिनरी व्यवसायी तथा मजदुरहरूले आफ्नो जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएका यन्त्र तथा उपकरणको पूजा गर्दै भगवान् विश्वकर्माप्रति श्रद्धा व्यक्त गरेका छन् । उनीहरु विश्वकर्मा भगवानको पूजाआजा गर्दा फलदायी हुने विश्वास व्यक्त गर्छन् ।

फलाम सम्बन्धी व्यवसाय गर्नेमात्र हैन सर्वसाधारणले समेत आजको दिन विश्वकर्मा बाबाको पूजाआजा गर्दा राम्रो हुने विश्वास व्यक्त गरेका छन् । धरान–२० का पदमबहादुर लिम्बुले विश्वकर्मा पूजाको दिन विश्वकर्मा मन्दिरमा आएर पूजाआजा गर्दा फलिफाप हुने विश्वासले मन्दिरमा पूजा गर्न आएको बताउनुभयो ।

मन्दिरमा बिहानैदेखि महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको थियो । भक्तजनको भीडलाई व्यवस्थित गर्न नेपाल प्रहरी, ट्राफिक प्रहरी, धरान नगर प्रहरी, स्काउट तथा स्वयंसेवकहरू परिचालन गरिएको थियो । पूजास्थलमा फूलमाला, अबिर, अक्षता, धूप, दीप तथा अन्य पूजासामग्रीसहित सवारीसाधनको विधिपूर्वक पूजा गरिएको थियो । विश्कर्मा बाबालाई हिन्दू धार्मिक परम्परामा निर्माण, वास्तुकला, शिल्प तथा धातुजन्य उपकरणका अधिष्ठाता भगवान् विश्वकर्माको आराधनाका रूपमा लिइन्छ । यस दिन सवारीसाधन, कलकारखानाका मेसिन, औजार तथा प्राविधिक उपकरणको पूजा गर्ने प्रचलन छ । विशेषगरी यातायात तथा मेसिनरी क्षेत्रमा संलग्न व्यक्तिहरूले आफ्नो कामको मुख्य साधनप्रति सम्मान र आगामी दिनमा सुरक्षित सञ्चालनको कामनासहित पूजा गर्ने गरेका छन् ।
विश्वकर्मा बाबा विश्वकर्मा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुवास श्रेष्ठले यस वर्ष पनि मन्दिरमा विश्वकर्मा पूजा भव्य रूपमा भइरहेको बताउनुभयो । उहाँले देशको पछिल्लो परिस्थितिका कारण विगतको तुलनामा भक्तजनको उपस्थिति केही कम देखिए पनि पूजाको उत्साह र धार्मिक वातावरणमा कमी नआएको उल्लेख गर्नुभयोे । उहाँले भक्तजनहरूलाई सहजता प्रदान गर्न नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी र स्वयंसेवकले लाइनको व्यवस्थापन गरेको बताउनुभयो ।

धरान–८ तीनकुनेस्थित बाबा विश्वकर्मा मन्दिरमा प्रत्येक वर्ष विश्वकर्मा पूजाका दिन सवारीसाधन तथा यन्त्र पूजा गर्न श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहने गरेको छ । धार्मिक आस्था, परम्परा र व्यावसायिक जीवनसँग जोडिएको यस पर्वले सवारीसाधन तथा प्राविधिक उपकरणप्रति सम्मान व्यक्त गर्ने संस्कृतिलाई निरन्तरता दिँदै आएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
6
विज्ञापन
4
विज्ञापन