one
विज्ञापन

धरानस्थित भाटभाटेनी सुपरमार्केट ठीक एक वर्षपछि सोही मितिमा पुनःसञ्चालनमा.........

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । गत वर्ष भदौ २४ गतेको विध्वंस र आगजनीले खरानी बनेको धरानस्थित भाटभाटेनी सुपरमार्केट ठीक एक वर्षपछि सोही मितिमा पुनःसञ्चालनमा आएको छ । एक वर्षअघिको पीडादायी घटनालाई पछाडि छाड्दै पुनर्निर्माणपछि भव्य रूपमा सञ्चालनमा आएको भाटभाटेनीमा पहिलो दिनदेखि नै ग्राहकको उल्लेख्य चहलपहल देखिएको छ ।

भाटभाटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङकी धर्मपत्नी सावित्री गुरुङले सोमबार बिहान विधिवत् पूजाआजा तथा मन्त्रोच्चारणसहित रिबन काटेर सुपरमार्केटको पुनःउल्घाटन गर्नुभयो । पुनःसञ्चालनसँगै बिहानैदेखि किनमेलका लागि ग्राहकहरू भाटभाटेनी पुग्न थालेका थिए । गत वर्ष भदौ २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट सुपरमार्केटमा ठूलो भौतिक क्षति पुगेको थियो । घटनाले व्यापारिक प्रतिष्ठानलाई मात्र होइन, त्यहाँ कार्यरत कर्मचारी, व्यवसायी र धरानको समग्र व्यावसायिक वातावरणलाई समेत गम्भीर असर पु¥याएको थियो । तर, एक वर्षमै पुनर्निर्माण पूरा गरेर सोही मितिमा भाटभाटेनी पुनः सञ्चालनमा आउनुले व्यवसाय पुनःस्थापनासँगै धरानको बजार र आर्थिक गतिविधिमा समेत नयाँ उत्साह थपिएको छ । पुनःसञ्चालनको पहिलो दिन किनमेलका लागि पुगेका ग्राहकहरूमा उत्साह देखिन्थ्यो । उनीहरूले भाटभाटेनी पुनः सञ्चालनमा आउनुलाई धरानको व्यापारिक गतिविधिका लागि सकारात्मक कदमका रूपमा लिएका छन् ।

उनीहरुले दैनिक उपभोग्यदेखि विभिन्न प्रकारका सामग्री एउटै छानामुनि उपलब्ध हुने भएकाले सर्वसाधारणलाई सहज भएको बताएका छन् ।
दसैँ, तिहारलगायतका चाडपर्व नजिकिँदै गर्दा रोजाइअनुसारका सामग्री सहज रूपमा खरिद गर्न पाउने अवसरले ग्राहकमा थप उत्साह देखिएको छ ।
एक वर्षअघिको घटनालाई स्मरण गर्दै भाटभाटेनी धरानकी स्टोर म्यानेजर रीता लामाले विगतको पीडालाई बिर्सेर नयाँ उत्साहका साथ काममा फर्किएको बताउनुभयो । उहाँले विगतदेखि नै भाटभाटेनीमा आउने ग्राहकहरुले खरिदपछि सन्तुष्टि जनाउने बताउदै ग्राहकको सन्तुष्टि नै आफूहरुको सन्तुष्टि भएको बताउनुभयो ।

पुनःसञ्चालनसँगै भाटभाटेनीमा विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका सामग्रीसमेत उपलब्ध गराइएको कर्मचारी पूजा निरौलाले जानकारी दिनुभयो । ब्राण्डेड सामाग्री उचित मूल्यमा सामाग्राी पाइने हाँको भनाई छ ।

भाटभाटेनी पुनःसञ्चालनमा आएसँगै यहाँ कार्यरत करिब ३ सय स्थानीय कर्मचारीको रोजगारीसमेत पुनः सुनिश्चित भएको व्यवस्थापनले जनाएको छ । स्थानीय युवायुवती तथा महिलालाई रोजगारी दिँदै आएको प्रतिष्ठानको पुनरागमनले रोजगारीसँगै स्थानीय बजारको आर्थिक गतिविधिलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ । एक वर्षअघि आगजनी र तोडफोडको पीडा भोगेको यही ठाउँमा अहिले फेरि ग्राहकको भीड देखिएको छ । खरानीबाट उठेर पुनः सञ्चालनमा आएको भाटभाटेनीको यो पुनरागमनले कठिन परिस्थितिमा पनि व्यवसाय पुनर्निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
3
विज्ञापन