one
विज्ञापन

‘आत्महत्याबारेको सोच र संवादलाई सकारात्मक बनाऔँ’ भन्ने सन्देशसहित विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम........

Article Image

धरान । आत्महत्या आज विश्वकै गम्भीर जनस्वास्थ्य समस्याका रूपमा देखिएको छ । विश्वभर हरेक वर्ष सात लाखभन्दा बढी मानिसले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन् । सुनसरीमा पनि पछिल्लो एक वर्षमा २ सय ३६ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् भने ४ सय ६१ जनाले आत्महत्याको प्रयास गरेका छन् । मानसिक रोग, पारिवारिक तथा सामाजिक समस्या, आर्थिक संकट र एक्लोपनजस्ता कारणले आत्महत्याको जोखिम बढ्ने विज्ञहरू बताउँछन् । आत्महत्या रोकथामका लागि समयमै समस्या पहिचान, सकारात्मक संवाद र उपचार आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ ।

हरेक वर्ष सेप्टेम्बर १० तारिखमा मनाइने यो दिवसले आत्महत्याबारे समाजमा रहेको मौनता, हिचकिचाहट र सामाजिक कलंक अन्त्य गर्दै मानसिक स्वास्थ्यबारे खुला संवाद गर्न प्रेरित गर्छ । यस वर्ष पनि ‘आत्महत्याबारेको सोच र संवादलाई सकारात्मक बनाऔँ’ भन्ने सन्देशसहित विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम भइरहेका छन् ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार विश्वभर हरेक वर्ष सात लाखभन्दा बढी मानिसले आत्महत्याका कारण ज्यान गुमाउँछन् । विशेषगरी १५ देखि २९ वर्ष उमेर समूहमा आत्महत्या मृत्युको प्रमुख कारणमध्ये एक बनेको छ । आत्महत्याका अधिकांश घटना नेपालजस्ता न्यून तथा मध्यम आय भएका मुलुकमा हुने गरेको डब्लुएचओको तथ्यांकले देखाउँछ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा जिल्लामा २ सय ३६ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् । आत्महत्या गर्नेमा १ सय ३२ जना पुरुष, ५० जना महिला तथा १५ जना बालबालिका रहेका छन् । यसै अवधिमा ४ सय ६१ जनाले आत्महत्याको प्रयास गरेका छन् । आत्महत्या गर्ने वा प्रयास गर्ने व्यक्तिको पछाडि मानसिक स्वास्थ्य समस्या महत्वपूर्ण कारणका रूपमा देखिने गरेको चिकित्सकहरू बताउँछन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मानसिक रोग विभाग प्रमुख प्रा.डा. धनरत्न शाक्यका अनुसार आत्महत्या गर्ने वा प्रयास गर्ने व्यक्तिहरूको अध्ययन गर्दा ९० देखि ९७ प्रतिशतसम्ममा कुनै न कुनै मानसिक रोग वा मानसिक विचलन देखिने गरेको छ ।

बीपी प्रतिष्ठानमा आत्महत्याको प्रयास गरेका बिरामीहरू आकस्मिक कक्ष, वार्ड तथा बहिरङ्ग सेवामा दैनिकजसो आउने गरेका छन् । चिकित्सकका अनुसार आत्महानीको प्रयासपछि शारीरिक उपचार मात्र पर्याप्त हुँदैन । त्यससँगै व्यक्तिको मानसिक अवस्थाको मूल्यांकन, परामर्श र आवश्यक उपचार पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

तर चिकित्सकहरुले भने आत्महत्या केवल मानसिक रोगका कारण मात्र हुने घटना भने होइन । आर्थिक संकट, बेरोजगारी, ऋणको दबाब, पारिवारिक कलह, घरेलु हिंसा, प्रेम सम्बन्धमा आएको समस्या, सामाजिक एक्लोपन तथा मदिरा र लागुऔषधको दुरुपयोगले पनि जोखिम बढाउन सक्छ । मानसिक स्वास्थ्य विज्ञहरूका अनुसार कुनै व्यक्ति अस्वाभाविक रूपमा निराश देखिनु, आफूलाई अरूका लागि बोझ ठान्नु, मृत्युबारे कुरा गर्नु, सामाजिक सम्बन्धबाट टाढिनु वा आफ्ना प्रिय वस्तु अरूलाई बाँड्न थाल्नुजस्ता व्यवहारलाई सम्भावित चेतावनीका रूपमा लिनुपर्छ ।
यस्ता संकेत देखिएमा व्यक्तिलाई दोष लगाउने, गाली गर्ने वा कमजोर ठान्ने होइन, उसको कुरा ध्यानपूर्वक सुन्न चिकित्सकहरूको सुझाव छ । जोखिममा रहेको व्यक्तिलाई एक्लै नछोड्ने र तत्काल मानसिक स्वास्थ्य विशेषज्ञ, नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न समेत उनीहरुको सुझाव छ । आत्महत्या कुनै चरित्रको कमजोरी होइन । यो गम्भीर मानसिक तथा भावनात्मक संकटको अवस्था हो, जसमा समयमै सहयोग र उपचार पाए जीवन जोगाउन सकिने चिकित्सकरुले सुझाव दिएका छन ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
3
विज्ञापन